-जन गुनासो
-खेमलाल पहारी
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;

हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
कहिले कुनै पत्रकारलाई घोक्रेठ्याक लाउँछौ,
फेरि अर्को पत्रकारको कठालो समाउछौ;
गित गाउने कलाकार नि तिम्रो तारो बने,
तिम्रो पछि को उभिने यसै गर्छौ भने?
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
बलात्कारी हत्यारा ती माछाजस्तै उम्के,
सुन र पशु तस्कर पनि ताराजस्तै चम्के;
ठेकेदार त कमरेडहरूका अन्नदाता परे,
उद्योग अड्डा अदालतमा राम्रै सेटिंग छरे;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
मितघरको बगैंचामा दनदन आगो बल्यो,
उनकै घरको बाटो हुँदै तिम्रो जन्ती चल्यो;
यता अर्को छिमेकीको घरमा मान्छे मर्दा,
के पो सोच्यो जन्त आउन तिम्ले निम्तो गर्दा?
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
छिमेकीले तिम्रो भाइलाई आतंककारी भन्दा,
किन चुँक्क बोल्य छैनौ के छ तिम्रो धन्दा?
तिम्रै घरका परिवारजन जब थला पर्छन्,
तिम्रा भाइ व्यापार गर्न आँफै अघि सर्छन्;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
तिम्ले किन्या सामग्रीमा सेटिंग कै छ गन्ध,
मुल्य पनि तलै रैछ बिलमा लेख्या भन्दा;
थोत्रा थान्गना बटुलेछौ कहाँ हरायो मति?
तिम्रो सानो लापरवाहीले ठुलै भयो क्षती;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
बिरामीले लठ्ठी खान्छन् के औषधि ल्यायौ?
डाक्टर माथि बुट बजारी तिम्ले खै के पायौ?
बिरामीका सर्वप्रिय डाक्टर पुनलाई पनि,
के के गर्न थाल्याछौ रे हातखुट्टा तानी;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
भोको पेट र पैतालामा मानिसको लर्को,
सुन्दा पनि लग्दोहोला तिमीलाई झर्को;
छैन तिनको बस्ने बास न त खाने रासन,
जनता सवै मरेपछि कसलाई गर्छौ शासन?
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
घर जान चाहनेलाई ड्राइभर खटाइ देऊ,
विदेशबाट आउँछन् भने जहाज पठाई देऊ;
राजमार्गमा भोकै छन् रे खलाँसी र गुरु,
हामी मालिक तिमी सेवक मान खुरु खुरु;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
जो छ तिम्रो विपक्षमा उसैलाई हात लिनु,
एउटा ठूलो जिम्मेवारी उसकै काँधमा दिनु;
आँफु बस्नु चनाखो भै कहाँ गल्ती गर्छ,
राम्रो गरे तिम्रो काम हो बिग्रे ऊ नै पर्छ;
सुन्देऊ सान्दाई झन् झन् यहाँ भाँडभैलो भो;
हामी जन्तालाई कम्युनिस्ट भन्नै लाजमर्दो भोl
तिम्रा चम्चे छाते सिन्के सबै भातमारा,
तिम्लाई भोट हाल्ने जनता हैनन् कर्महरा;
एकदिन त कालो बादल पक्कै पनि फाट्ला,
आज जसले मह काढ्ला उसैले हात चाट्ला;